भाग १८ : स्थानीय व्यवस्थापिका | नेपालको संविधान २०७२

[ View English Version of this law ] [ पूर्ण कानून हेर्नुहोस् /डाउनलोड गर्नुहोस् ]

भाग–१८
स्थानीय व्यवस्थापिका


२२१. स्थानीय तहको व्यवस्थापिकीय अधिकार:

  1. यस संविधानको अधीनमा रही स्थानीय तहको व्यवस्थापिकीय अधिकार गाउँ सभा र नगर सभामा निहित रहनेछ ।
  2. गाउँ सभा र नगर सभाको व्यवस्थापिकीय अधिकार अनुसूची–८ र अनुसूची–९ बमोजिमको सूचीमा उल्लेख भए बमोजिम हुनेछ ।

२२२. गाउँ सभाको गठन:

  1. प्रत्येक गाउँपालिकामा एक गाउँ सभा रहनेछ ।
  2. उपधारा (१) बमोजिमको गाउँ सभामा गाउँ कार्यपालिका अध्यक्ष र उपाध्यक्ष, वडा अध्यक्ष र प्रत्येक वडाबाट निर्वाचित चारजना सदस्य र धारा २१५ को उपधारा (४) बमोजिम दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित गाउँ कार्यपालिकाका सदस्य रहनेछन् ।
  3. उपधारा (१) बमोजिम गठन हुने गाउँ सभामा प्रत्येक वडाबाट कम्तीमा दुईजना महिलाको प्रतिनिधित्व हुनेछ ।
  4. संघीय कानून बमोजिम गाउँपालिकामा रहने प्रत्येक वडामा वडा अध्यक्ष र चारजना सदस्यहरू रहेको वडा समिति गठन हुनेछ । त्यस्तो वडा अध्यक्ष र वडा सदस्यको निर्वाचन पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुनेछ ।
  5. अठार वर्ष उमेर पूरा भएको गाउँपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिलाई संघीय कानूनमा व्यवस्था भए बमोजिम मतदान गर्ने अधिकार हुनेछ ।
  6. देहायको योग्यता भएको व्यक्ति गाउँ सभाको सदस्यको पदमा उम्मेदवार हुन योग्य हुनेछः–
    1. नेपाली नागरिक,
    2. एक्काइस वर्ष उमेर पूरा भएको,
    3. गाउँपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको, र
    4. कुनै कानूनले अयोग्य नभएको ।
  7. गाउँ सभाको निर्वाचन र तत्सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ ।

२२३. नगर सभाको गठन:

  1. प्रत्येक नगरपालिकामा एक नगर सभा रहनेछ ।
  2. उपधारा (१) बमोजिमको नगर सभामा नगरकार्यपालिकाका प्रमुख र उपप्रमुख, वडा अध्यक्ष र प्रत्येक वडाबाट निर्वाचित चारजना सदस्य र धारा २१६ को उपधारा (४) बमोजिम दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित नगर कार्यपालिकाका सदस्य रहनेछन् ।
  3. उपधारा (१) बमोजिम गठन हुने नगर सभामा प्रत्येक वडाबाट कम्तीमा दुईजना महिलाको प्रतिनिधित्व हुनेछ ।
  4. संघीय कानून बमोजिम नगरपालिकामा रहने प्रत्येक वडामा वडा अध्यक्ष र चारजना सदस्यहरू रहेको वडा समिति गठन हुनेछ । त्यस्तो वडा अध्यक्ष र वडा सदस्यको निर्वाचन पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुनेछ ।
  5. अठार वर्ष उमेर पूरा भएको नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिलाई संघीय कानून बमोजिम मतदान गर्ने अधिकार हुनेछ ।
  6. देहायको योग्यता भएको व्यक्ति नगर सभाको सदस्यको पदमा उम्मेदवार हुन योग्य हुनेछः–
    1. नेपाली नागरिक,
    2. एक्काइस वर्ष उमेर पूरा भएको,
    3. नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको, र
    4. कुनै कानूनले अयोग्य नभएको ।
  7. नगर सभाको निर्वाचन र तत्सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ ।

२२४. गाउँ सभा र नगर सभाको अध्यक्ष र उपाध्यक्ष:

गाउँ कार्यपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगर कार्यपालिकाको प्रमुख र उपप्रमुखले क्रमशः गाउँ सभा र नगर सभाको पदेन अध्यक्ष र उपाध्यक्ष भई कार्य सम्पादन गर्नेछ ।

२२५. गाउँ सभा र नगर सभाको कार्यकाल:

गाउँ सभा र नगर सभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुनेछ । त्यस्तो कार्यकाल समाप्त भएको छ महीनाभित्र अर्काे गाउँ सभा र नगर सभाको निर्वाचन सम्पन्न गर्नु पर्नेछ ।

२२६. कानून बनाउन सक्ने:

  1. गाउँ सभा र नगर सभाले अनुसूची–८ र अनुसूची–९ बमोजिमको सूचीमा उल्लिखित विषयमा आवश्यक कानून बनाउन सक्नेछ ।
  2. उपधारा (१) बमोजिम कानून बनाउने प्रक्रिया प्रदेश कानून बमोजिम हुनेछ ।

२२७. गाउँ सभा र नगर सभा सम्बन्धी अन्य व्यवस्था:

गाउँ सभा र नगर सभाको सञ्चालन, बैठकको कार्यविधि, समिति गठन, सदस्यको पद रिक्त हुने अवस्था, गाउँ सभा र नगर सभाका सदस्यले पाउने सुविधा, गाउँपालिका र नगरपालिकाको कर्मचारी र कार्यालय सम्बन्धी अन्य व्यवस्था प्रदेश कानून बमोजिम हुनेछ ।




वा, सामग्रीको तालिका हेर्नुहोस्:
प्रस्तावना
भाग १ : प्रारम्भिक
भाग २ : नागरिकता
भाग ३ : मौलिक हक र कर्तव्य
भाग ४ : राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व
भाग ५ : राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड
भाग ६ : राष्ट्रपति र उपराष्ट्रपति
भाग ७ : संघीय कार्यपालिका
भाग ८ : संघीय व्यवस्थापिका
भाग ९ : संघीय व्यवस्थापन कार्यविधि
भाग १० : संघीय आर्थिक कार्यप्रणाली
भाग ११ : न्यायपालिका
भाग १२ : महान्यायाधिवक्ता
भाग १३ : प्रदेश कार्यपालिका
भाग १४ : प्रदेश व्यवस्थापिका
भाग १५ : प्रदेश व्यवस्थापन कार्यविधि
भाग १६ : प्रदेश आर्थिक कार्यप्रणाली
भाग १७ : स्थानीय कार्यपालिका
भाग १८ : स्थानीय व्यवस्थापिका
भाग १९ : स्थानीय आर्थिक कार्यप्रणाली
भाग २० : संघ, प्रदेश र स्थानीय तह बीच अन्तरसम्बन्ध
भाग २१ : अख्तियार दुरुपयोग अनुसन्धान आयोग
भाग २२ : महालेखा परीक्षक
भाग २३ : लोक सेवा आयोग
भाग २४ : निर्वाचन आयोग
भाग २५ : राष्ट्रिय मानव अधिकार आयोग
भाग २६ : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
भाग २७ : अन्य आयोगहरू
भाग २८ : राष्ट्रिय सुरक्षा सम्बन्धी व्यवस्था
भाग २९ : राजनीतिक दल सम्बन्धी व्यवस्था
भाग ३० : संकटकालीन अधिकार
भाग ३१ : संविधान संशोधन
भाग ३२ : विविध
भाग ३३ : संक्रमणकालीन व्यवस्था
भाग ३४ : परिभाषा र व्याख्या
भाग ३५ : संक्षिप्त नाम, प्रारम्भ र खारेजी
अनुसूची १: नेपालको राष्ट्रिय झण्डा
अनुसूची २ : नेपालको राष्ट्रिय गान
अनुसूची ३ : नेपालको निशान छाप
अनुसूची ४ : प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्लाहरू
अनुसूची ५ : संघको अधिकारको सूची
अनुसूची ६ : प्रदेशको अधिकारको सूची
अनुसूची ७ : संघ र प्रदेशको साझा अधिकारको सूची
अनुसूची ८ : स्थानीय तहको अधिकारको सूची
अनुसूची ९ : संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची