भाग १ : प्रारम्भिक | नेपालको संविधान २०७२

[ View English Version of this law ] [ पूर्ण कानून हेर्नुहोस् /डाउनलोड गर्नुहोस् ]

भाग–१
प्रारम्भिक


१. संविधान मूल कानून :

  1. यो संविधान नेपालको मूल कानून हो । यस संविधानसँग बाझिने कानून बाझिएको हदसम्म अमान्य हुनेछ ।
  2. यस संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ ।

२. सार्वभौमसत्ता र राजकीयसत्ता :

नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको छ । यसको प्रयोग यस संविधानमा व्यवस्था भए बमोजिम हुनेछ ।

३. राष्ट्र :

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।

४. नेपाल राज्य :

  1. नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो ।
    स्पष्टीकरण : यस धाराको प्रयोजनको लागि “धर्मनिरपेक्ष” भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनु पर्छ ।
  2. नेपालको क्षेत्र देहाय बमोजिम हुनेछः–
    1. यो संविधान प्रारम्भ हुँदाका बखतको क्षेत्र, र
    2. यो संविधान प्रारम्भ भएपछि प्राप्त हुने क्षेत्र ।

५. राष्ट्रिय हित :

  1. नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आधारभूत विषय हुनेछन् ।
  2. राष्ट्र हित प्रतिकूलको आचरण र कार्य संघीय कानून बमोजिम दण्डनीय हुनेछ ।

६. राष्ट्रभाषा :

नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् ।

७. सरकारी कामकाजको भाषा :

  1. देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ ।
  2. नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानून बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ ।
  3. भाषा सम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरे बमोजिम हुनेछ ।

८. राष्ट्रिय झण्डा :

  1. सिम्रिक रंगको भुइँ र गाढा नीलो रंगको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अंकित भएको झण्डा नेपालको राष्ट्रिय झण्डा हो ।
  2. नेपालको राष्ट्रिय झण्डा, राष्ट्रिय झण्डा बनाउने तरीका र तत्सम्बन्धी अन्य विवरण अनुसूची–१ मा उल्लेख भए बमोजिम हुनेछ ।

९. राष्ट्रिय गान इत्यादि :

  1. नेपालको राष्ट्रिय गान अनुसूची–२ मा उल्लेख भए बमोजिम हुनेछ ।
  2. नेपालको निशान छाप अनुसूची–३ मा उल्लेख भए बमोजिम हुनेछ ।
  3. नेपालको राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रंग सिम्रिक, राष्ट्रिय जनावर गाई र राष्ट्रिय पक्षी डाँफे हुनेछ ।



वा, सामग्रीको तालिका हेर्नुहोस्:
प्रस्तावना
भाग १ : प्रारम्भिक
भाग २ : नागरिकता
भाग ३ : मौलिक हक र कर्तव्य
भाग ४ : राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व
भाग ५ : राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड
भाग ६ : राष्ट्रपति र उपराष्ट्रपति
भाग ७ : संघीय कार्यपालिका
भाग ८ : संघीय व्यवस्थापिका
भाग ९ : संघीय व्यवस्थापन कार्यविधि
भाग १० : संघीय आर्थिक कार्यप्रणाली
भाग ११ : न्यायपालिका
भाग १२ : महान्यायाधिवक्ता
भाग १३ : प्रदेश कार्यपालिका
भाग १४ : प्रदेश व्यवस्थापिका
भाग १५ : प्रदेश व्यवस्थापन कार्यविधि
भाग १६ : प्रदेश आर्थिक कार्यप्रणाली
भाग १७ : स्थानीय कार्यपालिका
भाग १८ : स्थानीय व्यवस्थापिका
भाग १९ : स्थानीय आर्थिक कार्यप्रणाली
भाग २० : संघ, प्रदेश र स्थानीय तह बीच अन्तरसम्बन्ध
भाग २१ : अख्तियार दुरुपयोग अनुसन्धान आयोग
भाग २२ : महालेखा परीक्षक
भाग २३ : लोक सेवा आयोग
भाग २४ : निर्वाचन आयोग
भाग २५ : राष्ट्रिय मानव अधिकार आयोग
भाग २६ : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
भाग २७ : अन्य आयोगहरू
भाग २८ : राष्ट्रिय सुरक्षा सम्बन्धी व्यवस्था
भाग २९ : राजनीतिक दल सम्बन्धी व्यवस्था
भाग ३० : संकटकालीन अधिकार
भाग ३१ : संविधान संशोधन
भाग ३२ : विविध
भाग ३३ : संक्रमणकालीन व्यवस्था
भाग ३४ : परिभाषा र व्याख्या
भाग ३५ : संक्षिप्त नाम, प्रारम्भ र खारेजी
अनुसूची १: नेपालको राष्ट्रिय झण्डा
अनुसूची २ : नेपालको राष्ट्रिय गान
अनुसूची ३ : नेपालको निशान छाप
अनुसूची ४ : प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्लाहरू
अनुसूची ५ : संघको अधिकारको सूची
अनुसूची ६ : प्रदेशको अधिकारको सूची
अनुसूची ७ : संघ र प्रदेशको साझा अधिकारको सूची
अनुसूची ८ : स्थानीय तहको अधिकारको सूची
अनुसूची ९ : संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची